Wednesday, April 17, 2013
'चिन्नुभएन म सुशील कोइराला?'
- सुशील कोइराला पाँच लाख रुपिया लिएर बैंक गए। कर्मचारीले भनिन्- सर, एक लाखभन्दा बढी डिपोजिट गर्दा त परिचयपत्र देखाउनुपर्छ।
'म सुशील कोइराला हुँ'- उनले भने।
'सर, मैले हजुरको परिचयपत्र चाहिन्छ भनेकी,'
'मेरो परिचयपत्र के हुन्छ र?', उनले भने- 'चिन्नुभएन म सुशील कोइराला?'
'परिचयपत्र अनिवार्य छ सर'
'तपाईं मलाई विश्वास गर्नुहुन्न?'
'मैले बैंकको नियम सम्झाएकी हुँ सर,'
'प्रजातन्त्रका निम्ति त्यत्रो संघर्ष गरेको मानिस...तपाईं मलाई उल्याउन खोज्दै हुनुहुन्छ...?'
काउन्टरमा आवाज बढेपछि सबैजनाको ध्यान आकर्षित भयो। टाढा सिसे ढोकाको कोठाबाट म्यानेजर लम्किँदै आए। सोधे- 'के भयो हजुर?'
'तपाईं यहाँको म्यानेजर हो?' उनले भने, 'ल हेर्नुस्, तपाईंकी स्टाफले मलाई पत्याइनन्, म कहाँबाट परिचयपत्र ल्याऊँ?'
म्यानेजरले समस्या थाहा पाइहाले। सम्झाउन खोजे, 'सर, हाम्रो नियममा परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ।'
'विकल्प छैन?'
'पहिला एकपल्ट मात्र यस्तो घटना भएको थियो,' उनले भने, 'रामदेव आएका थिए। उनीसँग पनि परिचयपत्र रहेनछ।'
'अनि कसरी मिलाउनुभयो त त्यतिबेला?'
'हामीले के भन्यौं भने,' उनले थपे, 'हजुर रामदेव नै हो भन्ने एउटा प्रमाणचाहिँ देखाउनुपर्छ। त्यो भयो भने हामी हजुरको पैसा डिपोजिट गरिदिन्छौं।'
'अनि?'
'रामदेवले छाती ठूलो बनाएर पेट स्वाट्ट घटाए, सारंगीजस्तै बनाए,' उनले भने, 'हामीले त्यो त रामदेवले मात्र गर्नसक्छन् भन्ने ठहर गर्यौंस। त्योचाहिँ प्रमाण हो सर, त्यसलाई प्रमाणका रूपमा लिएर हामीले उनको डिपोजिट स्वीकार्यौं । हजुरले पनि केही प्रमाण दिनुभयो भने हामी मान्छौं। हजुर सुशील कोइराला नै हो भन्ने केही विशेषता त होला नि?'
'मेरो केही विशेषता छैन,' उनले भने- 'देखाउनलायक मेरो केही छैन।'
'ए..... ल भयो, यही प्रमाण हो,' म्यानेजरले ती स्टाफतिर फर्केर भने, 'उहाँको डिपोजिट लिइदेऊ।'
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment